फरक यौनिकता भएकाहरूमाथि हिंसा तर न्याय पाउन मुस्किल

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


महिला र पुरुषभन्दा फरक पहिचान भएका व्यक्तिहरूमध्येका एक हुनुहुन्छ, बाँके नेपालगञ्जका पुष्पा चौधरी । उमेरले उहाँ ३५ वर्षको हुनुभयो । सानै उमेरमा आफूमा आएको परिवर्तनबारे उहाँलाई केही जानकारी थिएन । उहाँको बानी व्यवहारका कारण भने घरमा आमा बुबा, भाइबहिनी र अन्य साथीहरूले उहाँलाई सँधै हेप्ने, जिस्क्याउने गर्दा उहाँलाई नराम्रो लागे पनि उहाँले त्यसको प्रतिकार गर्न सक्नुभएन । किनभने उहाँलाई नै थाहा थिएन, किन यस्तो हुँदैछ आफूमा । अतित बनिसकेको यो घटना अहिले पनि पुष्पाको मानसपटलमा आइरहन्छ । छोरा भएर जन्मनुभएका पुष्पामा भएको परिवर्तनले उहाँलाई परिवारबाटै निकालियो । पछि बुझ्दै जाँदा उहाँमा महिलाको जस्तो परिवर्तन हुन थाल्यो । यी सब घटनाले उहाँलाई घरमै शारीरिक र मानसिक यातना दिन थालियो । २४ वर्षको उमेरमा उहाँलाई घरबाट निकालिदिएपछि उहाँ जिल्लाकै निल हिरा समाजमा जानुभयो । पुष्पामाथि भएको यो घटना सामान्य भएजस्तो देखिए पनि सामान्य भने होइन । तर, यौनिक अल्पसङ्ख्यकहरूका लागि यो घटना सामान्य बनेको छ । फरक लिङ्गमा परिवर्तन हुँदै गर्दा भोग्नु परेको पीडा रुपन्देहीका कृष्ण तामाङ्गको पनि छ । उहाँलाई आफ्नो विपरित लिङ्गप्रति कुनै आकर्षण छैन । समलैङ्गीक भनेर आफूलाई चिनाउने कृष्णलाई आफूमा भएको परिवर्तन परिवार र समाजले स्विकार्न सहज थिएन । अझै पनि उहाँ घरभन्दा टाढा नै बस्नुहुन्छ । आफू समलैङ्गीक भएको कुरा अरुले थाहा पाएपछि उहाँले मानसिक रुपमा नै हिंसा भोग्नु परेको छ । कतिपय अवस्थामा त आफूमाथि भएको पीडा कसलाई सुनाउने भन्ने पनि नहुँदा उहाँलाई थप मानसिक तनाव हुन्छ । मधेशमा छोरा मान्छेले छोरा मान्छेलाई नै मन पराउने गरेको अभिभावकले थाहा पाएपछि र समाजमा थाहा भयो भने घर परिवारको इज्जत नै नरहने भएकाले उहाँलाई कुटपिट गर्न थालियो । कृष्ण सुनाउनुहुन्छ, ‘म १२ वर्षको हुँदा नै मलाई केटीभन्दा केटाहरूप्रति आकर्षण बढेको अनुभव हुन्थ्यो । मलाई माया गर्ने केटी होइन केटा हो भनेर अनुभव हुन्थ्यो । तर, मेरो यो भावनाबारे अरुले थाहा पायो भने मलाई के भन्छ त्यो सोचेर नै डर लाग्ने गर्थ्यो । मैले घरमा पनि कसैलाई यो विषयमा भन्न सकिन । तर, जब म १८ वर्षको भएँ र मैले घरमा यो कुरा सुनाएँ । मलाई मेरै बाआमाले कुट्ने र गाली गर्नुभयो । कोठामा थुनेर राख्नुभयो । मैले खाना पनि खान पाइन ।’ आफूमाथिको भएको यो हिंसा भोग्न बाध्य कृष्णको बारेमा उहाँकै एक जना साथीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले घटनाबारे कुनै सुनुवाई गरेन । कृष्णको यो पीडामा मल्हम लगाइदिने कोही नहुँदा उहाँ अझै पनि आफ्नो बारेमा खुलेर बोल्न सक्नु भएको छैन ।