डिजिटल भुक्तानीमा सेवाग्राहीको आकर्षण

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


पछिल्लो समय नेपालमा पनि विद्युतीय (डिजिटल) कारोबारको लोकप्रियता बढेको देखिन्छ । अझै कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञाले पनि डिजिटल कारोबारको लोकप्रियता झनै बढेर गएको छ । आगामी वर्ष सरकारले प्राप्त गर्ने राजश्व बैँकिङ प्रणालीमा लैजाने र डिजिटल भुक्तानीको प्रयोगलाई सर्वसुलभ बनाउने बजेटमार्फत सरकारले घोषणा गरेको छ । तर पनि डिजिटल भुक्तानीमा आमनागरिक आकर्षित हुन सकिरहेका छैनन् । आर्थिक वर्षको अन्त्यसँगै विभिन्न कर असुली गर्ने सरकारी निकायमा नागरिकको भीड लाग्ने गर्छ । गतवर्षझैँ यसवर्ष पनि कोरोना सङ्क्रमणका कारण कर तिर्न सरकारी कार्यालय धाउने र लाइन बस्ने अवस्था छैन । यस्तोमा डिजिटल भुक्तानी प्रभावकारी हुने थियो । तर जिल्ला मालपोत कार्यालय प्युठानमा डिजिटल भुक्तानी प्रणाली बैशाखबाटै सुरु गर्ने भनिए पनि नजिकै बैँक नहुँदा सम्भव भएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजश्व भुक्तानी नियमावली २०७८, बैशाख २३ गते राजपत्रमा प्रकाशित गरी जारी गरिसकेको छ । तर यातायात व्यवस्था कार्यालय हेटौँडाले यातायातका साधनको डिजिटल दर्ता नभएका कारण भदौ अगाडि विद्युतीय भुक्तानी प्रणालीमा जान नसकिने कार्यालयका सूचना अधिकारी राजु अर्यालले बताउनुभयो ।