निर्माण क्षेत्रभित्रको टाँगिया बस्ती ४५ वर्षदेखि अँध्यारोमा

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


काठमाडौँ । बाराको जितपुर सीमरा उपमहानगरपालिका १६ को टाँगिया बस्तीका तिलक मोक्तान निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पूर्वसम्भाव्यता अध्ययन भएकै वर्ष अर्थात २०५१ सालमा जन्मिनुभयो । उहाँलाई १० वर्षको हुँदादेखि छिट्टै बिजुली बाल्न पाइन्छ भन्ने सुनेको याद छ । १७ वर्ष बित्यो, ५ किलोमिटर उत्तरमा पर्ने निजगढ बजारको झिलिमिली हेरेर चित्त बुझाउनु परेको छ । घरमा ४ वर्षअघि २० वाटको सोलार राखे पनि साँझको समयमा २ घण्टा २ वटा चिम बाल्न र मोबाइल चार्ज गर्न पनि पर्याप्त नभएको उहाँको भनाइ छ । ‘हिजो म सानो छँदा बाआमालाई सोध्ने गर्थेँ, बा हाम्रो गाउँमा लाइन बत्ति (विजुली) कहिले आउँछ भनेर । अनि बाले जवाफ दिनुहुन्थ्यो, बाबु आउँछ हाम्रो पनि पालो आउँछ ।’ मोक्तान सम्झनुहुन्छ, ‘अहिले म २७ वर्षको भएँ । मेरो एउटा छोरी र एउटा छोरा छन् । जसरी मैले बालाइृ सोधेको थिएँ, त्यसरी नै अहिले मलाई मेरी ४ वर्षको छोरीले सोध्छिन् बाबा हाम्रो गाउँघर बजार जस्तै झिलिमिली कहिले हुन्छ ? म छोरीलाई कुनै उत्तर दिन सकिरहेको छैन ।’ नेपाल विद्युत प्राधिकरणले ३ वर्षअघि यो क्षेत्रमा बिद्युत बिस्तारका लागि ९६ लाख ७ हजार रुपैयाँ लाग्ने अनुमान गरेको थियो । स्थायी संरचना निर्माण नगर्न निजगढ विमानस्थल आयोजना कार्यालयबाट पटकपटक पत्राचार भएपछि विद्युत बिस्तारको कामै अघि बढेन । पहिला बस्तीको समस्या समाधान गरी विमानस्थल निर्माणको काम अघि बढाउनुपर्ने वडा अध्यक्ष केदारनाथ बजगाईको तर्क छ ।